२५ आश्विन २०८१, शुक्रबार

ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्: नेपाल

प्रकाशित मिति :  12 January, 2024 3:51 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरू क्रान्तिकारी हुनै नसक्ने बताए । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए ।

अध्यक्ष नेपालले भने, “हामीले देखिरहेका छौँ–हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ रु हुन सक्दैन । त्यसो हुनाले चुनौती छन् । यति सजिलो छैन । आफ्नै शक्ति बलियो बनाउनु पर्दछ । गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो ।”

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसका विरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताए ।



प्रतिक्रिया दिनुहोस !