२५ आश्विन २०८१, शुक्रबार

मन्त्रालयको संख्या घटाउनु पर्छ कि जस्तो लागेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  13 January, 2024 4:24 pm


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन्। मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरू त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन्।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए।

यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए।

उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए।



प्रतिक्रिया दिनुहोस !