२५ आश्विन २०८१, शुक्रबार

‘कानूनी जटिलताका कारण भूकम्प प्रभावित क्षेत्रमा अस्थायी अवास निर्माणमा बजेटको अभाव’

प्रकाशित मिति :  14 January, 2024 4:59 pm


काठमाडौँ । कानूनी अल्झनका कारण पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि बजेटको अभाव देखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममार्फत सो तथ्य सार्वजनिक गरेको हो ।

विपद् सम्बन्धि राहत वितरणका लागि व्यवस्था गरिएको ऐन र नियमावलीको झन्झटिलो प्रक्रियाका कारण पीडितका लागि अस्थायी आवास निर्माणमा बजेटको अभाव देखिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

भूकम्प गएलगत्तै मन्त्रीपरिष्द बैठकले त्यस क्षेत्रका लागि १० अर्ब बजेट निकासा गर्ने निर्णय गरेपनि हालसम्म सो बजेट १ अर्बमात्रै निकासा भएको र अन्य बजेट ऐन र नियमावलीका कारण ढिलाई हुन गएको उनले स्पष्ट पारे ।

प्राधिकरणकाअनुसार हालसम्म पश्चिम नेपालमा भूकम्प पीडितका लागि २० हजार १ सय ४७ अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ । त्यसैगरी १० हजार ३ सय ५ निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बताए । हालसम्म लाभग्राहीको संख्या भने ६८ हजार ७ सय ८० जना कायम रहेका छन् ।

पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको हालसम्म भूकम्पबाहेक २ हजार ९७ वटा विपद्का घटना भएको पनि जानकारी गराइएको छ । प्राधिकरणका प्रवक्ता खड्काले त्यसमध्ये सबैभन्दा बढी आगलागीको घटना भएको बताए ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी विपद्को घटना कोशी प्रदेशमा घटेको पाइएको पनि प्राधिकरणले जनाएको छ । प्रवक्ता खडकाले ती घटनाहरुमा परेर करिव एक खर्ब २९ अर्व क्षति भएको अनुमान गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !