२५ आश्विन २०८१, शुक्रबार

पोखरा महानगरको १४ औँ नगरसभा स्थगित, माघ १८ लाई सारियो

प्रकाशित मिति :  15 January, 2024 2:26 pm


काठमाडौँ । पोखरा महानगरपालिकाको १४ औँ नगरसभा माघ १८ गते बस्ने भएको छ। पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगरसभा स्थगित भएको हो।

पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले आर्थिक ऐनमा राजश्वसम्बन्धी विषयहरू समेटिने जानकारी गराउँदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरूको लागि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए। उनले माघ १८ गते पुन सञ्चालन हुने गरी स्थगित भएको जानकारी दिए।

पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो। मंगलबार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली कांग्रेसबाट वडाध्यक्ष भएकाहरु बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो।

यता पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने कर्तव्य भएकोले विविध कारणले गर्दा रोकिएको बिशेष प्रश्तावलाई सम्बोधन गरेर राजश्वलाई घटाउनको लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको बताए।

पोखरा महानगरपालिकामा काँग्रेसका वडाध्यक्षहरूको बहुमत छ। २२ जना वडाध्यक्ष रहेको काँग्रेसले मंगलवार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेण्डा राख्न सुझाए। तर महानगरले कर घटाउने बारेको एजेण्डा बैठकमा राखेको थिएन। एजेण्डा नै समावेश नभएपछि काँग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए।

त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूचि पास गर्न कार्यपालिका बैठक डाकिएको हो। त्यस्तै पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा एमालेले बहिष्कार नगरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !