२५ आश्विन २०८१, शुक्रबार

राजनीतिक दलहरूलाई राष्ट्रपति पौडेलको आग्रहः संविधान कार्यान्वयनका लागि प्रण गरौँ

प्रकाशित मिति :  15 January, 2024 3:06 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमिले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानूनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन्।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर उनले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरूले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाइ गर्न नहुनेमा जोड दिए।

त्यस क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबरालगयतका नेताहरुको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस !