२५ आश्विन २०८१, शुक्रबार

महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा.चन्द्रमणि पौडेल

प्रकाशित मिति :  21 January, 2024 1:00 pm


काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रूपमा कार्यरत डा .पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेवारी दिएसँगै उनले कार्यभार समेत सम्हालि सकेका छन् । चिकित्सा शास्त्रमा विद्यावारिधि गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप समेत हासिल गरिसकेका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।

डा पौडेल रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग, सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीबाट समेत विभूषित भैसकेका छन् । उनी हृदयघात भएका हजार भन्दा धेरै व्यक्तिको कोरोनरी एन्जियोप्लाष्टी गरेर बचाउन सफल डाक्टर हुन् । त्यसैगरी उनले विभिन्न मुटु रोग विशेषज्ञहरूलाई तालिम समेत दिएका छन् ।

स्याङ्जाकाे हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुन् । त्यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान संकाय अध्ययन गरेका डा. पौडेलले प्रवीणता प्रमाण पत्र तहमा पनि सर्वोत्कृष्ट भएका थिए।

नेपालगंज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा. पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर (एमडी) गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !