४ मंसिर २०८१, मंगलबार

दाङ क्रिकेट लिग–२०८० को दोस्रो संस्करण फागुनमा हुने

प्रकाशित मिति :  23 January, 2024 11:24 am


दाङ । दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ ।

दाङ क्रिकेट सङ्घले दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो ।

सोमवार पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष प्रदीप मजगैयाँले ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाबी गरे । प्रतियोगिता खेल्ने टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष मजगैयाँले जानकारी दिए ।

लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको संघले जनाएको छ । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मर्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले अधिकतम मूल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट सङ्घका सचिव सज्नु केसीले जानकारी दिए ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए ।

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँको विश्वास छ ।

लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश/दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !