२६ आश्विन २०८१, शनिबार

शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै सुरु भयो सहिद सप्ताह

प्रकाशित मिति :  24 January, 2024 11:32 am


काठमाडौँ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने सहिदहरूको सम्झनामा आजबाट सहिद सप्ताह सुरू भएको छ ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरू गरिएको हो । सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरेकी हुन् ।

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रूखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कमल चलाउने पहिलो व्यक्ति भएको बताइन् । उनले भनिन्,”शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुची राख्ने व्यक्ति हुनुहुन्थ्यो । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर कलम चलाउने पहिलो व्यक्ति पनि शास्त्री हुन् । जीवन आफ्ना लागि मात्रै नभइ देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकता छ ।”



प्रतिक्रिया दिनुहोस !