२६ आश्विन २०८१, शनिबार

‘लघुवित्त र सहकारीहरू मर्ज गरेर सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्छ’

प्रकाशित मिति :  24 January, 2024 2:18 pm


काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले वाणिज्य बैंकहरूजस्तै लघुवित्त र सहकारीहरू पनि मर्ज हुनुपर्ने बताएका छन् । पाठकले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नको लागि लघुवित्त र सहकारीहरू मर्ज हुनुपर्ने बताएका हुन् ।

उनले भने, “पछिल्लो समय लघुवित्त र सहकारीमा जे समस्या देखिएको छ । वाणिज्य बैंकहरू मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरू पनि मर्ज हुनुपर्छ । एउटा स्थानीय तहमा धेरै वटा संस्था आवश्यक छैन । एउटा ठाउँमा धेरै लघुवित्त र सहकारी संस्थाहरू हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य हुने । सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गरेको छ ।”

पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताए । सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले वि.स २०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेकाे दाबी गरे ।

बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीन वटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको उनले बताए । राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उनको भनाइ छ ।

अध्यक्ष पाठकले ३५ हजार भन्दा बढी पुगेको सहकारी सङ्ख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको दाबी गरे । उनले भने, “३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रा छन् । बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्यौलता छ ।”



प्रतिक्रिया दिनुहोस !