बैंकहरूले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ: अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महत अब बैंकहरूले धितोबेस कर्जाभन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जाभन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए । उनले बैंकहरू पनि कर्जाभन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए ।
अर्थमन्त्री महतले अब बैंकहरूले पनि धितोबेस कर्जाभन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औँल्याए । उनले बैंकहरूले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए\नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए । उनले प्रोजेक्टबेस कर्जामा बैंकहरू जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गरे ।
मन्त्री महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९\८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे । तर आर्थिक वर्ष २०७९\८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गरे । उनले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बिचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताए ।
अर्थमन्त्री महतले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताए । उनले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गरे । सीमित राज्यको साधन स्रोतलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौती रहेको उनले बताए । उनले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको बाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताए ।
अर्थमन्त्री महतले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै बैंकहरूले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताए । उनले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरहेको बताए । ।