मनाङको तापक्रम माइनस २२ डिग्रीमा झर्यो
काठमाडौं । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीयकाअनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको छ। हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएकोले बताए । जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रमुख जिल्ला सुवास कुमार अधिकारी लामिछानेका अनसार चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएका छन् ।
मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको प्रजिअ लामिछानेले बताए। अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।”
पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।