२६ आश्विन २०८१, शनिबार

मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा जावलाखेल चिडियाखानामा ल्याइयो

प्रकाशित मिति :  26 January, 2024 7:03 pm


काठमाडौँ । मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडिया खाना,जावलाखेल ल्याइएको छ ।

गत बुधवार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा आज शुक्रवार जावलाखेलमा ल्याइएको हो । शुक्रवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर जावलाखेल सदर चिडियाखाना ल्याइएको जानकारी दिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा।सिन्धु ढुङ्गानाले उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएकाले उपचार गरेर बासस्थानमा पठाउने बताए । उनले सदर चिडियाखानामा हिउँ चितुवा उद्धारको लागि राखिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले नेपालमा भेटिने समस्याग्रस्त वन्यजन्तुको उद्धार र संरक्ष्णमा राष्ट्रिय प्रकृति संरक्षण कोष जोडिँदै आएको बताए । उनले आफूहरुले मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा बचाउनु पहिलो कर्तव्य भएको बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपककुमार खरालले हिमालमा बस्ने हिउँ चितुवा गर्मी स्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो इन्डिकेटर भएको बताए । उनले हिउँ चितुवा तराईमा भेटिनुले जलवायु परिवर्तनमा आएको असरलाई संकेत गर्ने बताए ।

उनले बासस्थानको हिसावमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बन्नुपर्ने बताए । उनलेनेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा हिउँ चितुवाका सम्भावित बासस्थन भएपनि सबैभन्दा कम उचाईमा हिउँ चितुवा भेटिनु अध्ययनको विषय बनेको बताउनु भयो । उहाँले मन्त्रालयले विज्ञ सहितको अध्ययन कार्यदल बनाएर अध्ययन गर्ने बताए ।

पूर्व कञ्चनजंगादेखि पश्चिम अपिनप्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आसपासका स्थान हिउँ चितुवाका सम्भावित बासस्थन हुन् । नेपालमा २०१ देखि ४ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !