२६ आश्विन २०८१, शनिबार

सबै इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै नेपाल वायुसेवा निगमको मुहार फेरिन्छ : मन्त्री किराँती

प्रकाशित मिति :  27 January, 2024 1:23 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिवार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै मन्त्री किराँतीले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे ।

मन्त्री किराँतीले भने,“मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमान्दार भएर लागौँ । एक वर्ष सबैले इमान्दार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ ।”

उनले निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने उल्लेख गरे ।

आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको मन्त्री किराँतीको भनाई थियो ।

उनले भने,“सबैभन्दा ठूलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्षदिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन । कछुवाकै गतिमा भएपनि हामी अघि बढिरहेका छौँ ।”

निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले बिस्तारै निगम माथि उठ्दै गएको अनुभुति भएको मन्त्री किराँतीले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !