८ मंसिर २०८१, शनिबार

आज ७१औँ विश्व कुष्ठरोग दिवस

प्रकाशित मिति :  28 January, 2024 9:53 am


काठमाडौँ । आज ७१ औं विश्व कुष्ठरोग दिवस देशभर विभिन्न सन्देशमुलक कार्यक्रमका आयोजना गरी मनाइँदैछ ।

‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज देशभर विभिन्न कार्यक्रम गरी याे दिवस मनाउन लागिएको हो ।

आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् ।

आर्थिक वर्ष २०८९\८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।



प्रतिक्रिया दिनुहोस !