२६ आश्विन २०८१, शनिबार

रुकुममा झगडा मिलाउन खोज्दा प्रहरीमाथि आक्रमण, २ प्रहरी घाइते

प्रकाशित मिति :  29 January, 2024 11:10 am


रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा गएराति स्थानीय युवाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि स्थानीय युवाले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

आइतबार साँझ बाँफिकोट–३ स्यार्पुमा स्थानीयबीच विवाद भएको र घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

कुटपिट गर्ने बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२र१३ जनाको समूहले कुटपिट गरेपछि घटनास्थलमा पुगेका प्रहरीले घटनाबारे बुझ्न खोज्दा प्रहरी माथि नै आक्रमण भएको खड्काले बताए।

कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीलाई आक्रमण गर्ने युवा फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको खड्काले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !