२९ पुस २०८१, सोमबार

सरकार सञ्चालन गर्नेहरूले नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

प्रकाशित मिति :  29 January, 2024 6:12 pm


काठमाडाैँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेकाहरूले नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

सोमवार नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले नै राज्यशत्तिको मुल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने बताए ।

उपप्रधानमन्त्री खड्काले राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नु नहुने बताए ।

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठूलो अरू कोही पनि नभएको बताए ।

हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भएपनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री खड्काले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहनुभएका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !