२६ आश्विन २०८१, शनिबार

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

प्रकाशित मिति :  31 January, 2024 11:07 am


काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । हिजाे (मंगलबार) काठमाडौँबाट ट्राफिक प्रहरीले मोटरसाइकल चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका वडा नम्बर ६ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०२–०४१ प ००८६ नम्बरको मोटरसाइकल काठमाडौँको टोखाबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२४८ नम्बर राखी चलाइरहेको अवस्थामा सुरेश विश्‍वकर्मालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्र तामाङ मार्फत विश्वकर्माले खरिद गरेको खुल्न आए पछि तामाङलाई समेत काठमाडौँको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस !