२६ आश्विन २०८१, शनिबार

एन आई सी एशिया बैँकले प्राधिकरणका कर्मचारीको बिमा रकम भुक्तानी गरेन,सम्झौता रद्दकाे चेतावनी

प्रकाशित मिति :  31 January, 2024 11:49 am


काठमाडौँ । एन आई सी एशिया बैंकले विद्युत् प्राधिकरणका कर्मचारीलाई सम्झौता अनुसार सेवा सुविधा नदिएको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले २०८० साउन ३ गतेदेखि लागु हुने गरी कर्मचारीहरू वा निजका परिवारहरू विरामी हुँदा थप रु. एक लाख सम्मको औषधी उपचार सुविधा पाउने गरी एन आई सी एशिया बैंकसँग सम्झौता गरेको थियो ।

बैंकले खातावालालाई प्रदान गर्ने सुविधालाई आधार मानी विनियम प्रदत्त हक अधिकार कटौती गर्ने गरी सबै कर्मचारीहरूलाइ केन्द्रिकृत रुपमा तलबभत्ता भुक्तानी गर्ने प्रयोजनको लागि एन आई सी एशिया बैंकसँग सम्झौता गरे पनि बैंकले भने सम्झौता अनुसार काम नगरेको भन्दै प्राधिकरणले पत्र काटेको हो ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका कार्यकारी निर्देशक र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघलाई चिठी काट्दै कर्मचारीहरूले पाउनुपर्ने सेवा सुविधा सम्झौता अनुसार नपाएको जनाएको छ ।

यस विषयले कर्मचारीहरूको हक अधिकारमा गम्भीर असर पर्न गएको नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष राम कुमार थेवेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरूले बिगत लामो समयदेखि नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०७५ को विनियम ११४ (१) को (क) बमोजिम सामुहिक दुर्घटना बीमाः कर्मचारी दुर्घटनामा परी मृत्यू वा अङ्गभङ्ग भएमा ७ लाख रुपैयाँ बरावरको सामुहिक दुर्घटना बीमा गरिने उल्लेख छ ।

यस्तो बिमा गर्दा उक्त सीमामा नबढ्ने गरी कर्मचारी तथा निजको परिवार विरामी भई अस्पताल वा नर्सिङ्ग होम भर्ना भई उपचार गराएमा रु. एकलाख सम्मको औषधी उपचार सुविधा समेत समावेश गर्न सकिने भनिएको छ ।

यो व्यवस्था अनुसार साविकमा नेपाल विद्युत प्राधिकरणले सामूहिक दुर्घटना बीमा गरे बापत बीमा कम्पनीबाट ने.वि.प्रा.लाई थप कुनै आर्थिक व्ययभार नपर्ने गरी रु. एकलाख सम्मको कर्मचारी र निजका परिवारले औषधी उपचार सुविधा प्राप्त गर्दै आइरहेका थिए र यसका लागि एन आई सी एशिया बैँकसँग सम्झौता भएको थियो ।

नेपाल विद्युत प्राधिकरण र एन.आई.सी एशिया बैंकबिच मिति २०७९ साउन २९ गते सम्झौता भएको थियो । पे रोल व्यवस्थापन सम्बन्धी मुख्य सम्झौता र सो सम्झौतामा उल्लेखित सामुहिक दुर्घटना तथा औषधोपचार बिमा सुविधा (कडा रोग समेत) सम्बन्धी प्रावधानलाई नियमित, सरल, केन्द्रीकृत र इमान्दारीताका साथ कार्यान्वयन गर्न २०८० साउन ३ गते पुरक सम्झौता भएको थियो ।

सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका कर्मचारी र निजका परिवारका खातावाला सदस्यको औषधी उपचार खर्च रकम, बील, भरपाई सहित दाबी प्राप्त भएको मितिले सामान्यतः तीस (३०) दिनभित्र भुक्तानी (सम्झौताको दफा ४ (घ), ६ (क) हुने गरी सम्झौता भए पनि बैंकले भने सो सम्झौता बमोजिमको कार्य नगरेको विद्युत् प्राधिकरणले जनाएको
छ ।

थेवेका अनुसार बैंकले सम्झौता अनुसारको कुनै सुविधा दिएको छैन । साथै ने. वि.प्रा.बाट २०८० साउनदेखि माघ १५ गतेसम्म करिब ३२६ जना कर्मचारीहरूको औषधी उपचार खर्चको भुक्तानी गर्न करिब १ करोड ७१ लाख रुपैयाँको सोधभर्ना भुक्तानीको लागि माग गरे पनि १०० जनाको औषधी उपचारको रकम दिन नसक्ने भन्दै फाइल फिर्ता गरेको र ८ जनाको करिब रु.२ लाख ३० हजार रुपैयाँ बराबरको मात्र फाइल अगाडी बढाएको भनिएकोक छ ।

साविकमा सोधभर्ना भुक्तानीको लागि दावी गरिएको मितिले बढीमा ४० दिन भित्रै सहज रुपमा सम्बन्धित कर्मचारीले भुक्तानी पाउने गरेका थिए ।

अहिले लामो समयसम्म भुक्तानी प्राप्त नभई सामान्य कर्मचारीहरू मार्कामा परेको र सम्बन्धित कर्मचारीहरूले औषधी उपचार गराउंदा बैंक तथा वित्तीय संस्था एवं व्यक्ति संग चर्को व्याजदरमा ऋण लिई आफ्नो र परिवारको औषधी उपचार गर्नु परेकाले उक्त एन.आई.सी. एशिया बैंक संग गरिएको सम्झौता तत्काल खारेज गर्न माग कर्मचारी युनियनले गरेको छ ।

साविककै बिमा कम्पनी मार्फत भुक्तानी हुने व्यवस्था नभएसम्म हाल दावी गरेको रकम नेपाल विद्युत प्राधिकरणबाटै सम्बन्धित कर्मचारीलाई उचित क्षतिपूर्ति सहित औषधी उपचार वापतको सोधभर्ना उपलव्ध गराउन माग गरेको छ ।

बैंकसंग भएको सम्झौता रद्द गरेर सम्बन्धित कर्मचारीहरूलाई यथाशिघ्र भुक्तानी गर्ने व्यवस्था नमिलाएमा हामी थप विरोधका कार्यक्रम अगाडि बढाउन बाध्य हुने र यसवाट हुने जाने हानी नोक्सानी एवं क्षतिको जिम्मेवार ने.वि.प्रा. व्यवस्थापक हुने उल्लेख गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका जनसाधन विभाग प्रमुख शिवकुमार अधिकारीले बैँकलाई लेखेको पत्रअनुसार हालसम्म बिमा दाबी गर्ने ५१३ भएकोमा जम्मा ५३ जनाले मात्र भुक्तानी पाएका छन् । बैंकले आँखा सम्बन्धि उपचारको सबै दाबी फाइल फिर्ता गरेको र प्राधिकरणले २०८० मंसिर २५ गते पत्र काटेर बिमा दावी फछ्यौट गर्न लिखित पत्राचार गर्दा समेत कार्य प्रगतिमा कुनै सुधार नदेखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

भुक्तानी भएका बीमा दाबीहरू समेत तोकिएको समयमा प्राप्त नभएको, भुक्तानी भएका बीमा दाबीहरूमा अस्वभाविक रकम कटौती भएको र सो को कारण समेत उल्लेख नगरिएको, भर्ना भई उपचार गरेको हकमा डिस्चार्ज समरी उपलब्ध गराउदा समेत ओ.पी.डी तथा इमरजेन्सी टिकट माग गरी कागजात नपुगेको भनि दाबी योग्य नहुने भन्दै बैंकले विद्युत् प्राधिकरणका कर्मचारीलाई दुख दिने गरेको प्राधिकरणले उल्लेख गरेको छ । एन.आई.सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्दै निर्देशक अधिकारीले सम्झौता पुनरावलोकन गर्नुपर्ने अवस्था सृजना हुन गएको उल्लेख गरिएको छ ।

विद्युत् प्राधिकरणले बैंकलाई चिठ्ठी लेख्दै सम्झौता अनुसारको दायित्व बहन गरी औषधी उपचार बीमा दावी यथाशीघ्र भुक्तानी गर्नुहुन अनुरोध गरेको छ ।

२०८० माघ १६ गते पत्र काट्दै पत्र प्राप्त भएको मितिले सात (७) दिनभित्र प्राधिकरणबाट पठाईएका बिमा दाबी रकम भुक्तानी गरी आगामी दिनमा पठाईने दाबी रकम समेत फछ्यौट हुने विश्वस्त आधार र दावी फछ्यौट हुने समयावधी सहितको कार्ययोजना उपलब्ध गराइदिनु हुन सूचित गर्दै सो अनुसार नभई अन्यथा भएमा सोही सम्झौताको दफा ७ (ठ) मा उल्लेख भएबमोजिम प्राधिकरणले त्यस बैंकसंग गरेको सम्झौता रद्द गर्ने उल्लेख गरेको छ ।

एन.आई.सी एशिया बैंकका गुनासो अधिकारी अर्जुनराज खनियाँले यसबारे आफूले थप बुझेर जानकारी गराउने बताए ।



प्रतिक्रिया दिनुहोस !