२६ आश्विन २०८१, शनिबार

‘आयोडिनको कमीबाट उत्पन्न हुने जटिल समस्याको समाधान गर्न जनचेतनाको खाँचो’

प्रकाशित मिति :  1 February, 2024 4:21 pm


काठमाडौँ । नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने कुपोषण लगायतका विभिन्न जटिल समस्याको समाधान गर्न जनचेतनाको खाँचो रहेको विज्ञहरूको भनाइ छ ।

आयोडिनको कमीबाट हुने विकृति निवारणका लागि आयोडिनयुक्त नुनको प्रवर्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि सुरू भएको आयोडिन मन्थकाे अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयाेजना गरेकाे बिचार गाेष्ठी कार्यक्रममा बाेल्दै उनीहरूले साे कुरा बताएकाे हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको जानकारी दिए ।

नेपालको हकमा नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठिक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन नायव प्रमख कार्यकारी अधिकृत तथा नुन विभागका प्रमुख कुमारराज भण्डारीले आम जनतामा निरन्तर रूपमा आयोडिनयुक्त नुनको प्रर्बद्धन तथा जनचेतना कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।

उनले यस बर्ष पनि कर्पोरेशनले हरेक बर्ष झै फेब्रुअरी महिनालाई आयोडिनको कमीको विकृतिहरू सम्बन्धी जनचेतना जगाउने महिनाको रूपमा ‘आयोडिन मन्थ’ घोषणा गरी चेतनामुलक गतिविधिहरू गर्ने बताए । “हरेक घरपरिवारले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालिसकेपछि आयोडिनको कमीबाट उत्पन्न हुने स्वास्थ्य समस्या जागृत गर्न अभियानलाई निरन्तरता दिएका छौँ”, उनले भने, “हामीले नेपाल सरकारलाई पनि धन्यवाद दिनुपर्छ । नेपाल सरकारको कारणले आज देशको हरेक कुना कुनामा आयोडिन नुन पुगेको छ ।”

त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लाे समय जन्कफुडकाे व्यापक रूपमा प्रयोग भएको अवस्थामा हरेक खानेकुरामा प्रयोग हुने नुनमा आयोडिनको मात्रामा पनि मिश्रण हुने र त्यो मानव शरिरमा पुग्दा त्यसले नकारात्मक असर पुगेको बताएका छन् । उनले भने, “अहिले बजारमा व्यापक रूपमा विभिन्न किसिम्मका हल्लाहरू आएका छन् । आयो नून खाएर थाइराइड को समस्या व्यापाक हुन लाग्यो । नून ज्यादै खाँदा रक्तचापका बिरामी बढी भयो भनेर तर यि सबै हल्लाहरू हुन् । हल्लाकै भरमा आम नेपालीहरू अझ संचार माध्यमहरू समेत हुँदा आम जनतामा अन्योल सिर्जना हुनु स्वाभाविक हो ।”

उपभोक्ता मञ्चका अनुसार खाद्य ऐन २०२३ अन्र्तगत खाद्य गुणस्तर मापदण्ड रहेकाे र साे मापण्ड धेरै पटक संशोधन भएतापनि नेपाल राजपत्रको भाग ३ मिति २०५७ साल १० महिना २३ गतेले आयोडिनयुक्त नुनको गुणस्तर अनिवार्य मापदण्ड तोकिएको छ । सो अनुसार सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत भन्दा घटी हुन नहुने र आयोडिनको मात्रा ५० मिलिग्रम प्रति किलोग्रममा नघेटेको हुनुपर्ने र बिक्रिस्तरमा ३० मिलिग्रम अनिर्वाय हुने व्यवस्था रहेको छ ।

अध्यक्ष महर्जनका अनुसार मापदण्ड तयार हुँदा नेपालको कुल जनसंख्या १ करोड ३६ लाख मात्र रहेकाे र शहरीकरणको अवस्था पनि १९७० सम्म नेपालमा जम्मा १६ वटा नगरपालिकाहरू रहेका थिए ।

नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरूलाई क्रमशः स्वास्थ्य चौकिहरूमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष (स्टल) राख्नेजस्ता गतिविधि महिनाभरि सञ्चालन गर्ने कर्पोरेसनले जनाएको छ ।

विश्व खाद्य संगठनद्वारा आह्वान र मापदण्डबमोजिम बिसं २०२० देखि नेपाल सरकारले आम नेपालीले उपभोग गर्ने नुनमा आयोडिन मिश्रण गरी वितरण गर्ने कार्य गर्दै आएको छ । कण्ठ निवारण कार्यक्रममार्फत नेपालमा आयोडिनयुक्त नुनको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत विगत ६० वर्षदेखि सरकारले दुर्गम क्षेत्रहरूमा ढुवानी अनुदान समेत दिई बिक्रीबितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !