२७ आश्विन २०८१, आइतबार

खेलाडीहरूकाे खानामा अनिवार्य दुग्ध पदार्थ समावेश गर्न डेरी एसोसिएसनकाे अनुरोध

प्रकाशित मिति :  4 February, 2024 3:05 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले खेलाडीहरूलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समावेश गर्न खेलकुद मन्त्री लगायत देशभरका खेलकुद शाखालाई ज्ञापनपत्र बुझाउँदै माग गरेको छ ।

एसोसिएसनले आज (आइतबार) तीनै तहका खेलकुद शाखाहरूलाई ज्ञापनपत्र पठाउँदै बालकदेखि वृद्ध अवस्थासम्म सहजै सेवन गर्न मिल्ने पौष्टिक तत्वले भरिएको पदार्थ भएकाले खेलाडीहरूलाई अनिवार्य रूपमा खाने खानामा दुध तथा दुग्ध पदार्थ समाबेश गराइदिन अनुरोध गरेका हो ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षहरूमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरू हुने र देशमा उत्पादन भएको दुधले नपुगेर डेरीहरूलाई बजारको माग पुर्‍याउन हम्मे हम्मे हुने बेलामा यस वर्ष आर्थिक मन्दीका कारण फागुनदेखि नै बजारमा दुध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुन थालेको बताए ।

उनले भने, “उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित अनेकौं कारण भए भने होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले पनि खपत कम हुन गयो । अर्को कुरा यहाँ दुधको मूल्य बढ्दा भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट यता दुध तथा दुग्ध पदार्थ आयात पनि अर्को कारण बनेकाे छ ।”

एसोसिएसनका अनुसार दुधको खपत कम हुन गई मिल्क होलिडे रोक्न देशका डेरी उद्योगहरूले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नु पर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा करिब बटर र धुलो दुध गरि ५ अर्ब रकम बराबरको स्टक भएर धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् ।

एसोसिएसनले सहकारी लगायत अन्य संघ संस्थाको साधारणसभा लगायतका अन्य कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवा आदि नै प्रयोग गरि आम किसान र उद्योगलाई सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, सात प्रदेशका खेलकुद परिषद, सबै जिल्ला खेलकुद समिति र स्थानीय तहका शिक्षा तथा खेलकुद शाखामा उक्त पत्र पठाएको एसोसिएसनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !