नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बुढाथोकीको निधन
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।
उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए।
‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।
पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री बनेका थिए।
बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।