नेता बुढाथोकीको निधनमा कांग्रेसले ३ दिन पार्टीको झन्डा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा पार्टी कार्यालयमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा आजदेखि माघ २५ गतेसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति उपचारकाक्रमा विराटनगरस्थित विराट मेडिकल कलेजमा ८० वर्षको उमेरमा निधन भएको थियो ।
बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने निर्णय भएको छ । बुढाथोकीको निधनपछि माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ ।