२७ आश्विन २०८१, आइतबार

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न नरोकियोस्ः अध्यक्ष ढकाल

प्रकाशित मिति :  7 February, 2024 10:37 am


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले करिव २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही म्हिना यता रोकिएको बताए ।

उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए ।

उनले, ‘करिव २५ देखि ३० वटासम्म कम्पनीहरु जुन एउटा रेगुलर आइपीओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ ।

म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसावको इस्युहरु छन् भने भोलि अध्यक्ष ज्यु आइसकेपछि गर्ने होला तर एउटा प्रोसेसमा भएको र सबै पूरा गरेको एउटा चिठीको लागि मात्रै रोकिएका करिव मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ ।

त्यस्तो किसिमको आइपीओमा जाने कुरा रोकिएको छ । हामीले मिडियामा पनि हेर्ने गरेका छाैँ, यो इस्युहरु धेरै उठेको छ । प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपीओ निष्कासन गर्न दिनुपर्छ ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !