२७ आश्विन २०८१, आइतबार

आन्तरिक बसाईंसराई चिन्ताजनक भयो : सांसद घर्ती

प्रकाशित मिति :  7 February, 2024 3:46 pm


काठमाडौँ । सांसद इश्वरी घर्तीले आन्तरिक बसाईंसराईको चिन्ताजनक अवस्थालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद घर्तीले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको र भौतिक पूर्वाधार र विकासको अभाव, शिक्षा, स्वास्थ्य र बेरोजगारी नै बसाईसराईको प्रमुख कारण रहेको भन्दै गम्भीरतापूर्वक लिन सरकारको ध्यानकर्षण गराएकी हुन् ।

उनले पहाडी र हिमाली जिल्ला खाली भइरहेको र तराई र शहरी क्षेत्रमा चाप बढेको भन्दै यसको समाधान गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा एमालेले हालै सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रापछि प्रधानमन्त्रीलाई नेकपा एमालेले ध्यानकर्षण गराएको समेत स्मरण गराइन् ।

उनले भनिन्,“ध्यानाकर्षणमा त्यस क्षेत्रमा बढ्दो बसाईंसराईको कारण, त्यसलाई मध्यनजर गरि राज्यको दायित्व र भूमिकाका बुँदाहरू समावेश छन् ।”

ति सुझावहरूलाई समेटेर पहाड र हिमालमा आन्तरिक बसाईसराईका कारण भइरहेको असरबारे सरकारले बृहत अध्ययन गर्नुपर्ने सांसद घर्तीको जोड थियो ।

उनले भनिन्, “सबै खाले विकास र संविधानमै ग्यारेन्टी गरिएका मौलिक हक अन्तर्गतका सेवा सुविधाहरू समान र न्यायोचित तरिकाले बाँडफाँड गर्ने निति बनाउन सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !