२७ आश्विन २०८१, आइतबार

धुम्रपान र सुर्ती सेवन निरुत्साहित गर्न विद्यालयस्तरीय प्रतियोगिता गर्दै डा.ओम फाउन्डेसन

प्रकाशित मिति :  7 February, 2024 5:19 pm


काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवन निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ संचालन गर्दै आएका छन् । डा.मूर्तिले उक्त अभियान प्रणय दिवस तथा सरस्वती पूजाको अवसर पारेर संचालन गरेका हुन् ।

विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका डा. ओम फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ ।

“पछिल्ला दिनमा नेपालमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेको छ । अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धुम्रपान सुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ,” डा. मूर्तिले भने, “विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन् । साथै घर परिवार, आफन्त र साथीभाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन् ।”

सोही उद्देश्यका साथ फाउन्डेसनले धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, सेवन कर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको डा. मूर्ति जानकारी दिए। फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि अनलाइमार्फत् सार्वजनिक आह्वानसमेत गरिसकेको छ ।

कवितादेखि हाजिरी जवाफ प्रतियोगितासम्म

धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कविता नेपाली भाषामा रचना गरिएको हुनुपर्ने छ । गद्य वा पद्य छन्दमा रचित कविता २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ । १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच जना छात्रा छात्रलाई उत्कृष्ट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

कविता २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइपुग्नुपर्ने छ । धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनुपर्ने फाउन्डेसनले जनाएको छ।

चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिने छ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तिमा एउटा छात्रा अनिवार्य गरिएको छ ।

सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिने फाउन्डेसनले जनाएकाे छ। फाउन्डेसनका अनुसार प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरूबिच ‘भर्चुअल’ यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धुम्रपान सम्बन्धित छानेको \रोजेको विषयमा बोल्नुपर्ने फाउन्डेसनले जनाएकाे छ ।

छनोट चरणमा उत्कृष्ट भएका प्रदेशगतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रतिप्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूहमध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबुक लाइभ हुनेछ ।

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा। ओम फाउन्डेसनको फेसबुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ । अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ ।

सबै प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बरसहित) , इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ । प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेनको टिमले गर्नेछ । प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !