२७ आश्विन २०८१, आइतबार

विरोध प्रदर्शन गर्न नदिएको भन्दै पीडितहरू काठमाडौँ महानरपालिका विरुद्ध आन्दोलित

प्रकाशित मिति :  8 February, 2024 6:39 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा बिरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरपालिका विरुद्ध आन्दोलित भएका छन् ।

शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमवार काठमाडौँ महानगरपालिकाले शान्ति बाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीवार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् ।

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरूको भनाई छ । उनीहरुले शान्तिबाटिकामा आफूहरूको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरू हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबाट पनि पीडित भएको बताए ।

उनले मेयर साहले गरिबहरुमाथि दमन र अत्याचार गरेको बताए । उनले शान्ति बाटिका मेयर साह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको बताउनु भयो । उहाँले मेयर साहलाई हिटलर नबन्न आग्रह समेत गरे ।

त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमवार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्त शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताए । उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै शान्ति बाटिका नछोड्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !