२७ आश्विन २०८१, आइतबार

गार्गी कन्या गुरुकुलकाे अक्षयकोष स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ गर्ने

प्रकाशित मिति :  9 February, 2024 2:02 pm


काठमाडौँ । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्ने भएको हो ।

आगामी फागुन १ गतेदेखि ९ गतेसम्म पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा उक्त सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको काठमाडौँस्थित राम मन्दिरमा आज बसेको बैठकमा आयोजक समितिका संयोजक डा गोविन्द टण्डनले जानकारी दिए ।

उनले भने, “गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, गुरुकुलका बालिकालाई शिक्षाको महत्व बढाउन अक्षयकोषका लागि हामीले श्रीमद् भागवत महापुराण गर्न लागेका छौँ । सप्ताहव्यापी महायज्ञले राम्रो सफलता पाउने छ ।”

उक्त महायज्ञका लागि कुल पाँच सय एकजनाको मूल आयोजक समिति बनाइएको छ । बाँकी विभिन्न उपसमिति बनाउने तयारी भएको आजको छलफल कार्यक्रममा जानकारी दिइएको थियो ।

कन्यालाई संस्कारसहितको वैदिक शिक्षा प्रदान गरी विदूषी नारी शक्तिका रुपमा उत्पादन गर्ने उद्देश्यका साथ पुण्यसलिला नारायणी नदीको पावनतट देवघाटधाममा गार्गी कन्या गुरुकुल सञ्चालन भइरहेको छ ।

नेपालको पहिलो तथा समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको गुरुकुल व्यवस्थापन समितिका उपाध्यक्ष तथा सहप्राध्यापक डा मन काफ्लेले जानकारी दिए । उनका अनुसार गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।

उक्त सप्ताह ज्ञान महायज्ञ तथा अक्षयकोषका लागि आजमात्रै रु ३५ लाख दाताबाट संकलन भएको सहसंयोजक पौडेलले जानकारी दिए ।

उनका अनुसार विजया गोयलबाट रु १० लाख, महेशकुमार पोदारबाट रु एक लाख एक हजार एक सय ११, भगवती उपाध्यायबाट रु .पाँच लाख, शिखर इन्स्योरेन्सबाट रु .तीन लाख, सन नेपाल इन्स्योरेन्सबाट रु. दुई लाख, नेको इन्स्योरेन्सबाट रु.एक लाख ५१ हजार, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सबाट रु. पाँच लाख, लक्ष्मी बैंक रु. दुई लाख, सुशीला कोइरालाबाट रु. एक लाख, रामप्रसाद वस्तीबाट रु. ५१ हजार, सोनाली काफ्ले ढुंगेल र सास्वत ढुंगेलबाट रु. एक लाख ५० हजार, निर्मला पोख्रेलबाट रु. एक लाख ११ हजार, मन्दिरा पौडेलबाट रु. ५० हजार, कल्याणी काफ्लेबाट रु. ५० हजार तथा इन्दिरा मल्लबाट रु. १० हजार अक्षकोषका लागि रकम प्रदान गरिएको छ ।

नेपालमा हाल कुल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिकाहरू पढ्ने गरेको आजको बैठकमा जानकारी दिइएको थियो । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहप्राध्यापक डा काफ्लेले बताए ।



प्रतिक्रिया दिनुहोस !