२७ आश्विन २०८१, आइतबार

भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छः राजकिशोर यादव

प्रकाशित मिति :  9 February, 2024 5:15 pm


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन् ।

शुक्रबार भारत भ्रमण सम्बन्धि प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्दै उनले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबी समेत गरे । सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गरे ।

सभापति यादवकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए । भारतीय सांसदहरुले आफूहरुसँगको भेटमा नेपालको समृद्धि आफूहरुको चाहना रहेको पनि बताएको पनि सभापति यादवको भनाइ थियो । उनले आफूहरुले पनि भारतीय नेता तथा सांसदहरुसँगको भेटमा नेपालको शिर ठूलो हुनेगरी प्रस्तुती दिएको दाबी समेत गरे ।

सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो । भ्रमणका क्रममा सो टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसद अन्तर्गतको विदेश मामिलासम्बन्धि संसदीय समितिका सांसदहरुलगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !