२७ आश्विन २०८१, आइतबार

दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

प्रकाशित मिति :  10 February, 2024 1:32 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो । शनिवार जनकपुरका सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

“हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ”,थापाले भने, “हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।”

उनले गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको जिकिर समेत गरे । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरू नरहेको बताए ।

अध्यक्ष थापाले आफूहरूले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्र्र्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्याए ।



प्रतिक्रिया दिनुहोस !