२७ आश्विन २०८१, आइतबार

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई रिहा गर्ने आदेशप्रति गृहमन्त्री श्रेष्ठको असन्तुष्टि

प्रकाशित मिति :  11 February, 2024 5:59 pm


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा आज बोल्दै उनले जिल्ला अदालत काठमाडौंमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको आदेश नेपालको न्यायिक इतिहासकै पहिलो भएको जिकिर गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल प्रहरीले अपराध अनुसन्धान विभागले म्याद थप गर्न पाउने भए पनि त्यसको समय नदिएर त्यतिधेरै रोजगारी दिएको भन्ने जस्ता भाषा अदालतको आदेश आएको कुरालाई सम्बन्धित निकायले समीक्षा गर्नुपर्ने बताए ।

उनले सरकारले अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने उनको भनाई थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले अदालतको सो निर्णयको कार्यान्वयन गर्ने र सरकारले त्यो मुद्दालाई अघि बढाउने बताए । उक्त मुद्दामा संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे ।

माघ २२ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो ।

अदालतको सो निर्णय ठिक वा बेठिक जे भएपनि सरकारले त्यसलाई सम्मान गरेर अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !