२७ आश्विन २०८१, आइतबार

रूपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको दाबी

प्रकाशित मिति :  11 February, 2024 6:20 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको आइतवार बसेको केन्द्रिय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरूले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए ।

त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरूले विशेष रूपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेश गरेको जानकारी दिए । उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए ।

बैठकमा बोल्ने नेताहरूले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरूको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न माग समेत गरेका उनले उल्लेख गरे । अभियानले पार्टी नेता तथा कार्यकर्ताहरूको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाइ छ ।

माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक सोमवार (भोलि) बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !