स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएपछि विराटनगरमा ट्रकमाथि आगजनी, महासंघको आपत्ति
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ ।
गत आइतबार रानी भन्सारतर्फ गइरहेको समयमा विराटनगर महानगरपालिका वडा नम्बर ५ बरगाछीमा बा.प्र.३–००१ ख नम्बरको मालवाहक ट्रक, को ३६ प २८८९ नम्बरको स्कुटरसँग ठोक्किदा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ का अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको छ। सो घटनामा उत्तेजित भीडले ट्रकमा आगजनी गरेको र ट्रक जलेर पूर्ण रूपमा क्षति भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र घाइतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा ट्रकमा आगजनी गरिएको भन्दै महासंघले भत्र्सना समेत गरेको छ ।
महासंघले हिजो (मंगलबार) एक विज्ञप्ति जारी गर्दै सडक दुर्घटना अप्रत्यासित र काबु बाहिरको परिस्थितिमा हुने भन्दै भीडले दुर्घटनामा परेका पीडितहरूको उद्दार गर्न छाडेर अर्को दुर्घटना गरेका भन्दै ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । साथै क्षति भएको ट्रकको बिगो समेत आगजनीमा संलग्न व्यक्तिहरूबाटै असुल उपर गराउन समेत माग गरिएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँले सडकमा यस्ता अराजक गतिवधि नरोकिए र यस्ता घटनाहरूलाई नजर अन्दाज गरिए महासंघ विरोधका कार्यक्रम गर्न बाध्य हुने बताए । उनले आफुहरूको मागलाई वेवास्ता गरिए महासंघले सशक्त विरोध गर्दै ढुवानीको सवारी साधनहरू घर तथा ग्यारेजमा थन्क्याउन बाध्य हुने चेतावनी समेत दिए ।