२७ आश्विन २०८१, आइतबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छः खानेपानीमन्त्री

प्रकाशित मिति :  13 February, 2024 5:17 pm


काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका छन् ।

मङ्गलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँका जनतालाई १२ महिनै खानेपानी दिने सरकारको योजना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनः संरचना नगरेसम्म सम्भव नभएको बताए ।

उनले काठमाडौँ उपत्यका खानेपानीको पुनः संरचना गरी त्यसैको प्रमुख भूमिका हुनेगरी निर्माण गर्न सके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गरे ।

उनले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताए । यादवले काठमाडौँका जनतालाई पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताए ।उनले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताए ।

उनले जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताए । जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरू र खोलाहरू सुकिरहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !