२७ आश्विन २०८१, आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्त श्रवण

प्रकाशित मिति :  14 February, 2024 12:47 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । बुधवार शुभ साईतमा राष्ट्रपति पौडेल हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका हुन् ।

राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरे ।

वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको सुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ । त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रश्तुत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !