२७ आश्विन २०८१, आइतबार

भारतकाे मधुवनीमा ‘मेघा कृषि एक्स्पो’ सम्पन्न, ४० देशकाे उपस्थिति

प्रकाशित मिति :  14 February, 2024 3:45 pm


काठमाडौँ । भारतको विहार राज्यस्थित मधुवनीमा वृहत् कृषि, शिक्षा, स्वास्थ्य अमृत महोत्सव एवम् मेघा कृषि एक्स्पो सम्पन्न भएको छ ।

एस.के चौधरी एजुकेसन ट्रस्ट, कृषि विज्ञान केन्द्रको आयोजनामा भएको महोत्सवमा ४० देशका वैज्ञानिक तथा कृषिका सरोकारवालाको प्रतिनीधिमूलक उपस्थित रहेको थियो ।

फेब्रुअरी ९ देखि ११ गते भएको कृषि एक्स्पोको उद्घाटन विहारका राज्यपाल राजेन्द्र विश्वनाथले गरेका थिए। महोत्सवमा नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि र नेपाल कृषि अर्थशास्त्र समाजको नेतृत्वमा ३७ जनाको टोलीको नेपाली टोलीसमेत सहभागी भएका थिए।

कृषि एक्स्पोमा कृषि सम्बन्धी जानकारी, बीउविजन, मलखाद, किसान कसरी बढीभन्दा बढी लाभान्वित हुन सक्छ भन्ने विषयमा प्रदर्शन, च्याउका विभिन्न खाद्यसामाग्री, डेरी टेक्नोलोजी, कृषि गोष्ठी लगायत आयोजना गरिएकाे थियाे ।

स्वास्थ्य परिक्षण एवम् आँखा जाँच शिविर, मिथिला आर्टस, स्थानीय सामाग्रीहरु, खादी कपडालगायतका सामाग्रीहरु प्रदर्शनीमा राखिएको आयाेजकले जनाएकाे छ । कृषि क्षेत्रलाई कसरी व्यवसायिक र नाफामूलक बनाउन सकिन्छ भन्ने सिक्ने अवसर किसानलगायत विभिन्न सहभागीहरूले प्राप्त गरेको आयोजकको भनाइ छ।

एस.के चौधरी एजुकेसन ट्रस्टले आयोजना गरेको उक्त सम्मेलनमा दक्षिण एसियामा कृषि क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई लाइफटाइम अचिभमेण्ट अवार्डमार्फत सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्र कार्की थिए । कार्कीलाई विहारका राज्यपाल विश्वनाथ आर्लेकर, एस.के चौधरी एजुकेसन ट्रस्टका अध्यक्ष डा. शन्त कुमार चौधरीलगायतले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

मेलामा राखिएका कृषिसम्बन्धी जानकारी मूलक सामाग्री, विभिन्न देशका विज्ञहरूको कार्यपत्रबाट सिकेका कुराहरू नेपालमा पनि काम लाग्ने डा.कार्कीले बताए ।

नेपाल, भारत, नाइजेरिया लगायत विभिन्न देशका विज्ञहरूले दक्षिण एसियामा भोकमरी कसरी अन्त्य गर्ने, जलवायु परिवर्तन र कृषि र शिक्षालाई सँगसँगै कसरी लैजाने भन्ने विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !