२७ आश्विन २०८१, आइतबार

मध्येपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छः उपाध्यक्ष पौडेल

प्रकाशित मिति :  15 February, 2024 8:13 am


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्येपहाडी क्षेत्रमा नै भविष्यको खोजि गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्।

उनले संकल्प यात्राका क्रममा अध्ययन गर्दा मध्य पहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको पाइएकाले त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गरे।

पौडेलले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताए।

पौडेलले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताए । उनले मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने जनाए।

मध्यपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको पौडेलको भनाइ छ।

पौडेलले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गर्दै उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे।

मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई, खानेपानी, शिक्षा स्वास्थ्य र भौतिक र मानविय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन जोड गरे।

पौडेलले भने, “सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नसक्छौं भन्ने हामीले भ्रमणको क्रममा निष्कर्षमा पुगेका छौं । त्यसको लागि सबै भन्दा पहिला मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्नुपर्छ । झुलाघाटदेखि चिवाभन्झाञ्ङसम्मको डिपिआर परिमार्जन गर्नुप¥यो । परिमार्जन गर्दा जहाँजहाँ अनावश्यक रुपमा घुमेको छ । त्यो करेक्शन गर्नुपर्छ । करेक्शन गर्दा मात्रै पनि केही दूरी कम हुन्छ । तत्काल गर्न आर्थिक रुपमा साथ नदिए पनि सधैँ यही अवस्थामा रहँदैन ।”

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्येपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए।

उनले मध्यपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गरे।

अर्यालले भने, “उहाँहरुले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्येपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएको हुनाले कतिपय विषयहरु सर्वे गरेर काम गर्न सहज हुने देखिएको छ । सरकारका आगामी वर्षका नीति तथा कार्यक्रम र आयोजनाहरु हुन्छन् त्यसमा अहिले आएका मागहरुलाई कसरी समावेश गर्न सकिन्छ भन्ने हिसावमा काम गर्न आग्रह गर्दछु ।”

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभुति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

य विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !