७ मंसिर २०८१, शुक्रबार

भयभीत विश्व मानवः शीता शर्मा [कविता]

प्रकाशित मिति :  5 May, 2020 1:47 pm


बेला होइन यो केवल यहाँ फेसबुक चलाउने ।

ना ना तर्कमा मग्न मनलाई कमेन्टमा हराउने ॥

फ्याँकी हात्को मोबाइल पर उता सजग बनाउने ।

आओ चिन्तन गरौं जनहरू सबै राष्ट्र जोगाउने ॥

***

राष्ट्र नै हो गरीमा शिर सबको माथि उठाउने ।

गयो गिर्यो धरासयी भयो भने के लाई समाउने ॥

सोचेर बहुत दिमाग लगाई निष्कर्ष निकालौं है ।

पौरख अथक लगाई श्रमको प्रेमले अङ्गालौँ है ॥

*****

आए विघ्न तमाम तिर बनेर बज्रिए वक्षस्थल ।

थाप्दै बज्र सरी चोट प्रहर प्रहरमा आफ्नै शिर उपर ॥

भूकम्प बहत्तरले अतिशय पिडा दियो जनमा ।

कोरोना भनिने डरलाग्दो रोगले त्रास छर्यो विश्वमा ॥

******

आयो विनाशकारी रोग भयङ्कर रुघा खोकीको भेषमा ।

गयो ज्यान अकाल मृत्यु मुखमा अमेरिका’दि देशमा ॥

युहान हो उद्गम स्थल चिनियाँ कोरोना जन्माउने ।

आयो टप्प टिप्यो उड्यो प्राण पखेरु संसार हल्लाउने ॥

******

हावा सरी द्रुत सूक्ष्म गतिले छिर्यो पस्यो त्यो तनमा ।

गाँज्यो भित्र भित्रै मांसपटलमा शरीरको अङ्गमा ॥

गन्दै छान्दै अनेक राष्ट्रहरूमा कोभिड फैली गयो ।

हाहाकार भयो विश्व जगतमा हुण्डरी मच्ची गयो ॥

******

लाखौको गन्ती सङ्ख्या भयो नअटिने मर्नेहरुको सूची ।

गाह्रो भो अतिशय ज्यून पनि त देखेर विश्वको मति ॥

त्राहि त्राहि अहो !  विश्व जगत ए! मुर्झायो मुर्दा सरी ।

बुझ्नै गाह्रो झन् कठिन हुँदै गयो अन्त्य हुने कसरी ?

******

सीता शर्मा, २०७६ वैशाख २३

*******



प्रतिक्रिया दिनुहोस !