२७ आश्विन २०८१, आइतबार

प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतिः राष्ट्रपति पौडेल

प्रकाशित मिति :  17 February, 2024 1:46 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतिको विषय बनेको बताएका छन् ।

शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावणीय चुनौतिहरूको शिखरमा उभिएको बताए । उनले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरूचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौति तथा अवसरलाई सुक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावि दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने बताए ।

उनले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रुपमा जोडिएको हुने भन्दै पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता ठूला वन्यजन्तुदेखि ससाना वन्यजन्तु सम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भुमिकाबारे जानकार हुन आवश्यक रहेको बताएका थिए ।

पौडेलले मानव र वन्यजन्तुबिचको द्वन्द्व वन्यजन्तुको चोरी शिकारी, अवैध व्यापार जस्ता वन्यजन्तु अपराधका घटनाहरू र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरूलाई यथोचित, प्रभावकारी रूपमा सम्बोधन कसरी गर्ने ?भनेर सोच्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे ।

राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था, राष्ट्रिय क्षमता विकास, क्रियाशील राज्यका संयन्त्रहरु आदिको आवश्यकताले विशेष रूपमा वन्यजन्तु लक्षित कार्यक्रमहरूको अपरिहार्यता र कार्यान्वयनको बाटोलाई जोड दिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !