२८ आश्विन २०८१, सोमबार

जलवायु परिवर्तनका प्रभाव न्युनीकरण गर्न वातावरण संरक्षण गर्नुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रकाशित मिति :  17 February, 2024 2:24 pm


काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव न्युनिकरण गर्न वातावरण संरक्षण गर्नुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । । उनले कार्बन उत्सर्जनका प्रभावहरुको न्युनीकरण योगदानकर्ताको हैसियतबाट प्राप्त हुने लाभको दाबी गर्ने सक्षमतासमेत नेपालसँग हुनुपर्ने बताए ।

उनले वन, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलनको विषय सर्वोपरी र बहुआयामिक महत्वको भएपनि थुप्रै समस्या र चुनौतीहरु विद्यमान रहेको जिकिर गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले औद्योगिक एवम् भौतिक विकासले वातावरणीय पक्षमा जोखिम स्थिति सिर्जना गरिरहेको दाबी गरे । उनले विकास र वातावरणीय सन्तुलन कायम गरी दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा पनि चुनौतीहरु कायम रहेको पनि बताए ।

उनले जनसंख्याको तीव्र वृद्धि, अव्यवस्थित बसोवास, प्राकृतिक श्रोतमाथिको अत्याधिक दोहनका कारणबाट समेत वातावरणीय विनाश भइरहेको बताए । उनले वन्यजन्तुको चोरी, शिकारी तथा अवैध व्यापार र वन पैदावरको अवैध कटानी, ओसारपसार तथा बिक्री वितरणका कारण जैविक विविधता र वातावरणीय संरक्षणमा थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले जलवायु परिवर्तनका कारण पर्नसक्ने प्रभावहरुको रोकथाम र न्युनिकरणका लागि विभिन्न उपायहरूको अवलम्व गर्न जरुरी रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !