२८ आश्विन २०८१, सोमबार

भौतिक पूर्वाधारमन्त्री ज्वालालाई बर्खास्ती गर्न एमालेको माग

प्रकाशित मिति :  18 February, 2024 1:32 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरूको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेका छन् ।

उनले सरकारले गठन गरेको छानविन समितिले मन्त्रीको कमजोरी औंल्याएको भन्दै मन्त्रीलाई अविलम्व बर्खास्ती गर्नुपर्ने बताए । उनले सिपाईलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी समेत दिए । सचेतक बर्तौलाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छानविन गरिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले आर्थिक अनियमितता र भ्रष्टाचारको आशंकामा भएको व्यक्तिलाई मन्त्रीको रूपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुँगा रटाइ भाषण सुन्न आफूहरू तयार नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !