२८ आश्विन २०८१, सोमबार

ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीको माग

प्रकाशित मिति :  18 February, 2024 3:41 pm


काठमाडौँ । ट्रक व्यवसायीहरूले ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३ औँ साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्दै ट्रक व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

भारतीय ट्रकहरू नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल रोक्नुपर्ने उनीहरूको माग छ । भारतीय ट्रकहरूलाई नेपालमा निर्बाध रूपमा चल्न दिनु नहुने ट्रक व्यवसायीहरूको माग छ ।

लाखौँ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरूको गुनासो छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीहरूले गुनासो गरे ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनु पर्ने बताए। उनले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको पनि बताए ।

उनले ट्राफिक प्रहरीको ज्यादति र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनु परेको बताए ।



प्रतिक्रिया दिनुहोस !