२८ आश्विन २०८१, सोमबार

‘नदी सीमाका समुदायको संयन्त्र बनाउन आवश्यक छ’

प्रकाशित मिति :  18 February, 2024 5:17 pm


काठमाडौँ । अन्तरदेशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान सरोकारवालाहरूले माग गरेका छन् ।

विश्व सामाजिक मञ्चको काठमाडाैँ जारी सम्मेलनमा नेपाल-भारतका गैरसरकारी क्षेत्रमा काम गरिरहेका संस्थाहरूले एक भन्दा बढी देश भएर बग्ने नदीबारे समुदायले समेत काम गर्नेगरी संयन्त्र बनाउन आवश्यक रहेको बताएका हुन् ।

नदीको जलाधार क्षेत्रदेखि तटीय क्षेत्रसम्म रहेका समुदाय नदीजन्य क्रियाकलापमा प्रत्यक्ष प्रभावित हुने भएकाले यसको सम्पूर्ण व्यवस्थापन समुदायले मात्र राम्रोसँग गर्नसक्ने सहभागीहरूले बताएका छन् ।

छलफलमा अन्तरदेशीय नदी क्षेत्र व्यवस्थापन विज्ञ राजन सुवेदीले अन्तरदेशीय नदीबारे विश्वभर विवाद रहेको र यसको प्रत्यक्षमा नदी जलाधार क्षेत्र र तटिय क्षेत्रमा बस्ने समुदायले भोगिरहेको बताए । उनले देश-देशबिच नदी श्रोतको विवाद र देश भित्रको सरकारको प्राथमिकतामा समुदायको विषय नपर्ने भएकाले अन्तरदेशीय समुदायको संयन्त्र बनाउन आवश्यक रहेको बताए ।

नेपाल, भारत, भूटान, बंगलादेश एकै प्रकारका अन्तरदेशीय नदी सीमासँग जोडिएका देश हुन् । नदीको जलाधार क्षेत्रमा हुने परिवर्तनले सबै देश कुनै न कुनै रुपमा प्रभावित छन् । हिमालय क्षेत्रमा जलाधार भएका सबै नदीहरूमा दक्षिण एशियाली देशको चासो रहने गरेको छ ।

विश्वमा लगभग २७६ वटा अन्तरदेशीय सीमा नदीहरू रहेका छन् । करिब १४५ देशका ३ अर्ब भन्दा बढी मानिस नदी तटीय क्षेत्र र जलाधार क्षेत्रमा बसोवास गर्दछन् । जलवायु परिवर्तनले यी नदी क्षेत्रका बासिन्दा हरेक समय कुनै न कुनै रूपमा प्रभावित भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !