२८ आश्विन २०८१, सोमबार

आज प्रजातन्त्र दिवस, पूर्वराजादेखि पूर्वराष्ट्रपतिसम्मले दिए शुभकामना

प्रकाशित मिति :  19 February, 2024 7:35 am


काठमाडौँ। आज फागुन ७ गते, ७४ औँ प्रजातन्त्र दिवस मनाइँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति साम उपराष्ट्रपति रामसहायप्रसाद यादवदेखि पूर्व राजा, पूर्व राष्ट्रपति, वर्तमान उच्च पदस्थ सरकारी अधिकारीहरुले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलेले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने सन्देश दिएका छन्।

उपराष्ट्रपति यादवले मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिलगायत समुदायले गरेका आन्दोलनमा आफ्नो ज्यानको आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सबै सेनानीरालई स्मरण गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्ने बताएका छन्।

शाहले भनेका छन्, “प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनलेजे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ।”

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त्य गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरेकी छिन्।

मुलुकमा उद्योग र उद्यमशीलताको विकासमार्फत सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण अपरिहार्य भएको भण्डारीको भनाइ छ।

शुभकामना सन्देशमा भनिएको छ, “विसं २००७ को जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो ।”

नेपालमा पहिलो पटक २००७ सालमा प्रजातन्त्र आएको सम्झनामा देश विदेशमा रहेका नेपालीहरुले आजको दिनलाई स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएका छन्।



प्रतिक्रिया दिनुहोस !