२८ आश्विन २०८१, सोमबार

भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति हो: उपसभापति खड्का

प्रकाशित मिति :  20 February, 2024 2:19 pm


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन् ।

मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत त गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति भएको बताएका हुन् ।

उनले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताए । उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए । उनले कांग्रेसले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्ने स्पष्ट पारे ।

उनले भने, “नेपाली कांग्रेस संविधानलाई गतिशील दस्ताबेजको रूपमा हृदयङ्गम गर्दछ । संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ । संविधान लागु भए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्क्तिबाट आएका सुझावहरू समेतको आधारमा संविधान संशोधनको आवश्यक नेतृत्व नेपाली कांग्रेस आफैँले लिनेछ । आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप समृद्ध र थप सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तरक्रिया तथा विमर्शमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

उनले संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली कांग्रेस खुला रहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली कांग्रेस आफैँले लिने बताए ।



प्रतिक्रिया दिनुहोस !