२८ पुस २०८१, आइतबार

बालकुमारी घटनामा ओलीको टिप्पणीः नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री

प्रकाशित मिति :  20 February, 2024 2:55 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाए ।

ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा समेत दिए ।

पार्टी मुख्यालय च्यासलमा सुरू भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने बताए । अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिर समेत गरे ।

“दोषी हो मन्त्री भनेर तोकिएको छ । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो । मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ,” उनले भने, “नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री । यस्ता मन्त्रीरूलाई, जस बनाएको आयोग, आफैँले बनाएको अयोगले दोषी करार गरेको छु, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ । जसका कारण प्रहरीहरू कारबाहीमा परेका छन् । जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सृजना भएको छ । मान्छेहरु घाइते भएका छन् । अनि त्यस्तो मन्त्री बसीरहन मिल्छ रु लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ ? यो गठबन्धनले यही गरिराखेको छ । लोकलाज पनि छैन यो गठबन्धनलाई । यस्तो अवस्थामा हामी छौं ।”

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !