२८ आश्विन २०८१, सोमबार

न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्र बनाउन कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

प्रकाशित मिति :  21 February, 2024 7:18 am


काठमाडौँ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन्।

सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गरे ।

यसका लागि भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने श्रेष्ठको भनाइ छ। उले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गरे।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने जनाए।

उनले भने, “न्यायपालिकालाई आम नागरिकलाई भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एशोसिएशन तथा कानून व्यवसायीहरुको भुमिका सदैव महत्वपूर्ण, आवश्यक र सर्वोपरी हुन्छ भन्ने मेरो मान्यता रहेको छ । संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै हो ।”

श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताए। उनले थपे, “हाम्रा भूमिका र जिम्मेवारीहरु फरक छन् । तर लक्ष्य एउटै हो । त्यो हो न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभुति । न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उचो नबनाएसम्म हामी विश्वासिलो बन्न सक्दैनौं ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !