२८ पुस २०८१, आइतबार

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल सुरू

प्रकाशित मिति :  21 February, 2024 1:02 pm


काठमाडौँ । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक बुधवार (आज) पनि जारी छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरूले प्रस्तुत गरेका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल सुरू भएको हो ।

मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदवावको खाकासहितको कार्ययोजना प्रस्तुत गरेका थिए ।

सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल सुरू गरिएको हो । एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए ।
भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रस्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूह बनाएको छ ।

समूहले प्रस्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ ।

बैठकको सुरूमै अध्यक्ष ओलीले सरकार पूर्णतः असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !