२८ आश्विन २०८१, सोमबार

माधव नेपाल लक्षित ओलीले भने : ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

प्रकाशित मिति :  22 February, 2024 2:28 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता÷कार्यकर्ताहरुलाई एमालेमा प्रवेश कार्यक्रममा ओलीले माधव नेपाललाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

ओलीले दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने,पार्टी कमजोर बनाएको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए ।

अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको जिकिर गर्दै ओलीले भने, ‘कुनै हिसावले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन् । किनभने उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन ।’

गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश गराउने र अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, बढिरहेको जिकिर गरे ।

पार्टी प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रिय सदस्य अरविन्दकुमार यादव, केन्द्रिय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !