२८ आश्विन २०८१, सोमबार

‘महासमितिमा महिला नीतिमा छलफल हुन सकेन’

प्रकाशित मिति :  23 February, 2024 1:41 pm


काठमाडाैँ । नेपाली काँग्रेसका नेतृहरुरूले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् ।

शुक्रवार काठमाडौँमा भएको एक भेलामा सहभागी नेतृहरूले महासमितिको बैठकमा महिला केन्द्रित नीतिबारे सामान्य छलफल मात्रै भएको बताए ।

बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।

भेलामा सहभागी नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक रहेको बताइन् । निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने स्पष्ट पारिन् ।

काँग्रेसका महिला नेतृहरूले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रिय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस नेतृ कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरू समेटिए पनि महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा महिलाका लागि थप उर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताइन्।

उनले सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रूप दिन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, “महिला दलित, पछाडि पारिएका वर्गहरूका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरू समेटिएको छ तर त्यस भन्दा थप उर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन् । सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रूप दिनेछ ।”

त्यस्तै काँग्रेस नेतृ पुष्पा भुसालले नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राखिन् । उनले सामाजिक, आर्थिक, राजनीतिक रुपमाबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताइन् ।

त्यस्तै काँग्रेस नेतृ रंगमति शाहीले काँग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको बताइन् । उनले महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भएपनि नीति बनेर नआएको बताइन् । उनले अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्ने माग गरिन् ।

उनले काँग्रेस पार्टी अहिले सुकिलामुकिला, धनी, धनाढ्यको पार्टी बनेको आरोप लगाए । उनले काँग्रेसले महिलालाई अगाडि नलगेसम्म काँग्रेस सही बन्न नसक्ने जिकिर गरे ।

फागुन १० गते गोदावरीमा सकिएको काँग्रेस महासमिति बैठकमा महिलाका हक, अधिकारबारे आंशिक छलफल भएपनि नीतिमा नसमेटिएकोप्रति काँग्रेस नेतृहरुले असन्तुष्टि व्यक्त गरेका हुन् र उनीहरूले पार्टीको केन्द्रिय कार्यसमितिमा प्रस्तुत हुने प्रतिवेदनले महिलाको अधिकारलाई सशक्त हुनेगरी सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !