२८ आश्विन २०८१, सोमबार

महासमितिमा महिला नीतिमा छलफल हुन सकेनः काँग्रेस नेतृहरु

प्रकाशित मिति :  23 February, 2024 2:59 pm


काठमाडौं । नेपाली काँग्रेसका नेतृहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् ।
शुक्रवार काठमाडौंमा भएको एक भेलामा सहभागी नेतृहरुले महासमितिको बैठकमा महिला केन्द्रित नीतिबारे सामान्य छलफल मात्रै भएको बताए ।

बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।

भेलामा सहभागी नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक रहेको बताइन् । निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने स्पष्ट पारिन्।

काँग्रेसका महिला नेतृहरुले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रिय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताएका छन् ।

कार्यक्रममा बोल्दै काँग्रेस नेतृ कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमा महिलाका लागि थप उर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताइन् ।

सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिन आवश्यक रहेको छ सेजुवालले भनिन्, ‘महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिएको छ तर त्यस भन्दा थप उर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन् । सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनेछ ।’

त्यस्तै काँग्रेस नेतृ पुष्पा भुसालले नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राखिन ।

उनले भनिन, ‘नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ । महिला नीति बन्नुपर्छ भन्ने माग राखेका थियौँ । सामाजिक, आर्थिक, राजनीतिक रुपबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ । महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने थियो, समावेश भएन ।’

काँग्रेस नेतृ सरस्वती अर्यालले महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच नपुगेको आवाज उठेपनि सम्बोधन नभएको गुनासो गरिन् । उनलेपार्टीको पदाधिकारीमा महिलाको पहुँच नपुगेको भन्दै महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबीचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने बताइन् ।

त्यस्तै काँग्रेस नेतृ रंगमति शाहीले काँग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको सुनाउँदै महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भएपनि नीति बनेर नआएको बताइन् ।

उनले भनिन, ‘माथिल्लो तहमा महिलाको उपस्थिति रहेन । आवाज नउठेको होइन, महिलाले सशक्त आवाज उठाउनुभएको थियो । वडादेखि काँग्रेस केन्द्रिय तहसम्म प्रमुख पदमा अनिवार्य महिला भनेर जुन आवाज उठाइएको थियो । अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्छ भन्ने माग गरेका छाँै । सशक्त रुपमा आवाज उठेपनि नीति बनेर आएन । सातै प्रदेशमा नेतृत्व पुरुषको छ, त्यसले पनि आवाज कम भयो ।’

काँग्रेस नेतृ विष्णु परियारले महिलाका अधिकारलाई पार्टीले गम्भीर रुपमा लिन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेस अहिले परिस्थितिले बिग्रिएको टिप्पणी गरिन् । मञ्चमा पनि काँग्रेसमा महिलाको उपस्थिति न्युन हुने गरेकोले अहिलेको काँग्रेस सुकिलामुकिला, धनी, धनाढ्यको मात्रै भएको आरोप लगाइन् ।

फागुन १० गते गोदावरीमा सकिएको काँग्रेस महासमिति बैठकमा महिलाका हक, अधिकारबारे आंशिक छलफल भएपनि नीतिमा नसमेटिएकोप्रति काँग्रेस नेतृहरुले असन्तुष्टि व्यक्त गरेका हुन् र उनीहरुले पार्टीको केन्द्रिय कार्यसमितिमा प्रस्तुत हुने प्रतिवेदनले महिलाको अधिकारलाई सशक्त हुनेगरी सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !